२० कार्तिक, काठमाडौँ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूलाई सहयोग गर्नेक्रम जारी रहेको छ।
यसैक्रममा चितवनको भरतपुर महानगरपालिकाले भूकम्पपीडितकाे उद्धार तथा राहतका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आइतबार बसेको महानगरको ८७औं कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग संकलन गरेर एक करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्न लागिएको हो।
भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि महानगरले सम्पूर्ण भरतपुरवासीमा आह्वानसमेत गरेको छ।