समाचार

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

४ पुष २०७८, आईतवार ०१:२७
प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

४ पुस, काठमाडौं । संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार भएको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवा यसमा सकारात्मक बनेको जनाइएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उक्त बैठकमा आफूहरुको सहभागिता नहुने बताएका छन्। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूहरुले कारबाही गरेका माधवकुमार नेपालको पनि सहभागिता हुने भएपछि एमालेले बहिष्कार गर्ने निर्णय लिएको हो। गत भदौ २३ गतेदेखि एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ।

सभामुखले भदौ २९ मा बोलाएको र प्रधानमन्त्रीले असोज १४ मा बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन। मंसिर २८ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्