२० कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर २२ गते काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शन गर्ने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
“भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,” उनले भने ।
‘भूकम्पजस्तो प्राकृतिक विपदको परिस्थितिका कारण पार्टीको तर्फबाट मंसिर २२ गते काठमाडौंमा आयोजित वृहद जनपरिचालनको कार्यक्रम हालका लागि स्थगित गरिएको छ’, माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यस्तै, बैठकले जाजरकोट भूकम्पका कारण अभियानअन्तगर्त चियापान, शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ । संगठनात्मक कार्यक्रम भने जारी राखिने उनले बताए ।