१९ कार्तिक, नेपालगञ्ज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन् ।
आज भेरी अस्पताल पुगेका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालमा भूकम्प प्रभावित घाइतेको प्रभावकारी उपचार, उद्धार र राहतका लागि भएका कामका बारेमा जानकारी गराएका थिए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले भूकम्प प्रभावित जिल्लाका घाइतेको उपचारका लागि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकेको छ ।
भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ शय्या छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिमका ३७ घाइतेको भेरीमा उपचार भइरहेको छ । घाइते एक जना भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।