१८ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग भएको छ ।
प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् ।
प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अब प्रधानमन्त्री दाहाल सुर्खेतबाट जहाज चढेर काठमाडौं आउने र हेलिकप्टरले घाइतेहरुको उद्धार गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू चढेर जानुभएको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग गर्नैपर्ने अवस्था भयो । अब उहाँ सुर्खेतबाट जहाज चढेर आउनुहुन्छ,’ उनले भने ।