मुख्य समाचार

स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ गए प्रधानमन्त्री प्रचण्ड

१८ कार्तिक २०८०, शनिबार ०२:४१
स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ गए प्रधानमन्त्री प्रचण्ड

१८ कार्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएका छन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट जान लागेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो ।  त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि एकिन विवरण आइसकेको छैन ।

भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ । जाजरकोट र रुकुममा ३६/२६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्