समाचार

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै

१६ कार्तिक २०८०, बिहीबार १४:३४
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै

१६ कार्तिक, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ ।

आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आज राति १२ः०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए ।

साथै यस अवधिमा सङ्घीय संसद्को संयुक्त सदनको जम्मा छवटा बैठक बसेको थियो । यस अवधिमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (५) को व्यवस्था बमोजिम २०८० जेठ ४ गते, असार ८ र भदौ १२ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गरेका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्