१६ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतको परमादेशसँगै याेगराज ढकाल (रिगल) पक्राउ परेका छन्। नेपालगन्जको प्रेम हलनजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए। उनलाई जेल चलान गर्न लागिएको छ।
सर्वोच्चको आदेशलगत्तै बिहीवार अपराह्न ढकाललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले लोकान्तरलाई जानकारी दिए । सर्वोच्च अदालतको पूर्ण इजलासलाई रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बिहीवार नै बदर गरिदिएको थियो ।
चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेकाे अभियोगमा ढकाललाई जन्मकैद सजाय भएकोमा सरकारको सिफारिसमा राष्ट्रपतिले गत ३ असोजको संविधान दिवसमा ६० प्रतिशत कैद कट्टा गरी छाड्ने निर्णय भएको थियो। सोही सुविधा पाई उनी छुटेका थिए।
त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले यस्तो कार्य संविधानविपरीत भएको फैसला सुनाएको हो। यसरी कैद कट्टा गरी जेलमुक्त गर्ने निर्णयले अपराधको राजनीतीकरण मौलाउने ठहर सर्वोच्च गरेको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासको आदेशमा भनिएको छ, ‘अपराधको राजनीतीकरण गर्ने प्रवृत्तिहरू पनि यस्तै प्रकारका व्यवहार र कार्यशैलीको धरातमा पैद हुने र मौलाउने गर्दछन्। स्वेच्छाचारिता पैदा हुने प्रकृतिका व्यवहारहरूमा नियन्त्रण र सुधार गर्दै गएमा नै कानुनको साख कायम राख्न योगदान प्राप्त हुन्छ।’