समाचार

सर्वोच्चको आदेशपछि भारतीले तोडिन् अनशन

१६ कार्तिक २०८०, बिहीबार १४:१७
सर्वोच्चको आदेशपछि भारतीले तोडिन् अनशन

१६ कार्तिक, काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतलाई ढोगेकी छन्।

माइतीघर मण्डलबाट अनसन सुरु गरेकी शेर्पाले बिहीबार सो ठाउँबाट जुस पिएर अनशन तोडेकी हुन्।  मानन्धरकी पत्नी भारती शेर्पाले हालको रिटको सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले निर्णय सुनाएको हो।

अदालतबाट आफूले न्याय पाएको भन्दै भारतीले सर्वोच्चलाई ढोगेकी हुन्। फैसलापछि उनी भक्कानिएर रोएकी थिइन्। सरकारले  रिगललाई कैद माफी दिएपछि न्याय माग्दै माइतीघर मण्डलामा अनसन बसिरहेको भारती आदेश आउनु केहीबेरअघि मात्रै सर्वोच्च पुगेकी थिइन्। अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ।

इजलासबाट उक्त निर्णय सुनेसँगै उनी भावविव्हल भएकी थिइन्। उनी इजलासबाट निस्कँदैगर्दा डाँको छाडेर रोएकी थिइन्।  २०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

प्रतिक्रिया दिनुहोस्