१४ कार्तिक, काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ। संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन्।
नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ ।
सम्बोधनको जानकारी आइतबार नै प्रतिनिधि सभा बैठकमा दिइएको थियो । गुटेरेसको सम्बोधन हुनुभन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका थिए । साथै उनले औपचारिक पोसाकमा आउनसमेत आग्रह गरेका थिए ।