खेलकुद

घरेलु मैदानमा बलियो टीम, आँखामा छ विश्वकप ड्रिम

१२ कार्तिक २०८०, आईतवार १५:०२
घरेलु मैदानमा बलियो टीम, आँखामा छ विश्वकप ड्रिम

१२ कार्तिक,काठमाडौं । दोस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले भोलिबाट एसिया क्वालिफायर खेल्दैछ । एसिया क्षेत्रका ८ देश सहभागी प्रतियोगितामा नेपाल उपाधिकै बलियो दावेदार हो ।

एकदिवसीय एसियाकप देखी एसियाली खेलकुदको टी-२० फर्म्याट र घरेलु मैदानमा भएको टी-२० त्रिकोणात्मक सिरिज सम्म नेपालले आफ्नो उम्दा प्रदर्शन दिएको छ। नेपाल घरेलु मैदानमा लगातार १६ खेल जितेपछि पहिलो पटक त्रिकोणात्मक सिरिजमा पहिलो हार भोग्यो। गत माघमा नेपालको प्रशिक्षक भएर मोन्टी देशाई नेपाल आएपछि घरेलु मैदानमा नेपालले भोगेको पनि त्यो पहिलो हार हो।

 यूएई र ओमान नेपालका चिरप्रतिद्वन्द्वी नै हुन् । हङकङ पनि लगभग नेपालकै स्तरको मानिन्छ । मलेसिया, कुवेत, सिंगापुर, बहराइन जस्ता टीम दावेदार नहोलान् । तर, ‘सेटब्याक’ रिजल्ट निकाल्न सक्षम छन् । त्यसैले नेपाललाई अति आत्मविश्वासी बन्न वा हेलचेक्र्याइँ गर्न कत्ति पनि छुट छैन । खेलाडीहरुले हरेक खेलमा आफ्नो सय प्रतिशत नै दिनुपर्नेछ । सानो चुक पनि नेपालका लागि महँगो पर्नसक्छ ।

नेपालले क्वालिफायरको तयारीका लागि भनेर हालै यूएई र हङकङसँग त्रिकोणात्मक प्रतियोगिता आयोजना गर्‍यो । तर, यो प्रतियोगिताको फाइदा नेपाललाई बढी भयो कि यूएई-हङकङलाई भन्ने प्रश्न उठ्छ । सायद नेपाललाई भन्दा प्रतिस्पर्धी टीमहरुलाई फाइदा भयो । उनीहरुले नेपालको माहोल र पिच कन्डिसनको अनुभव लिन पाए । अन्यथा मूलपानीको पीच उनीहरुका लागि नौलो हुने थियो । उनीहरुलाई नेपालको बलिङ र ब्याटिङसँग अभ्यस्त हुने अवसर पनि मिल्यो ।

नेपालका खेलहरु

नेपाल भर्सेस सिंगापुर- कात्तिक १३ (त्रिवि मैदान: विहान ९ बजे)

नेपाल भर्सेस मलेसिया-कात्तिक १४  (त्रिवि मैदान: दिउँसो १:१५ बजे)

नेपाल भर्सेस ओमान- कात्तिक १६ (त्रिवि मैदानस: विहान ९ बजे)

प्रतिक्रिया दिनुहोस्