१० कार्तिक,कैलाली । सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ ।
नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ ।”
भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।
नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राकह ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् । चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।