२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेका छन्।
संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी गएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो दुखद समयमा नेपाल इजरायलसँगै रहेको पनि परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षीसँगको कुराकानीमा बताएका जनाइएको छ।
इजरायली विदेशमन्त्री कोहेनले नेपालको ऐक्यबद्धताका लागि धन्यवाद दिँदै मृत्यु भएका नेपालीहरूको शव पठाउन र नेपाल फर्कन चाहनेहरूलाई इजरायल सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका मन्त्रालयले जानकारी दिएको छ।
शनिबार बिहान हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ । पछिल्लो तनावका कारण सयौँ नेपाली स्वदेश फर्कनसमेत चाहेका छन् । उनीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको सहकार्यमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।