२२ असोज, काठमाडौं। नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । हिजो सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज मतदान हुनेछ ।
आइतबारदेखि सोमबारसम्म महासचिव शंकर पोखरेलले अध्यक्ष पदका आकांक्षी उम्मेदवार र यस प्रदेशबाट नेतृत्व गर्ने अगुवा नेता कार्यकर्ताहरुलाई सहमतिको प्रयास गरेका थिए । तर अध्यक्ष पदका उम्मेदवार कमल तिमिल्सिना र कृष्णप्रसाद जैसीबीच समझदारी नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।
उद्घाटनलगत्तै फर्किएका अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई सहमति गराउने जिम्मेवारी दिएका थिए । पोखरेलसमेत सोमबार दिउँसो नै फर्किसकेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित १५५ जनाको प्रदेश कमिटि चयन गर्ने छ ।
हालसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन् । कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी सार्वजनिक गरेका छन् । यसबीचमा कार्यकर्ताहरु तिमिल्सिना र जैसीका लागि अलगअलग कित्तामा नेता कार्यकर्ताहरु बाँडिएका देखिन्छन् ।
निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन् । भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।