समाचार

नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ- कुरोदा

२२ आश्विन २०८०, सोमबार ०९:५०
नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ- कुरोदा

२२ असोज, काठमाडौं। एसियाली विकास बैंकका पूर्व अध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताए ।

चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)संग खबर हबले गरेको युवासंगको अन्तरसंवादमा कुरोदालेमानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरेका छन् ।

 

नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव दिए। नेपाली विद्यार्थीहरु विदेश गइरहेकोतर्फ सङ्केत गर्दै कुरोदाले भने ‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ । छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ ।’

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासंगै अग्रसरता आवश्यक भएको बताए ।

आयोजक संस्था खबरहबका अध्यक्ष नरेश श्रेष्ठले आगामी दिनहरुमा नीतिगत बहस श्रृङ्खलालाई प्रदेशस्तरसम्म लगिने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान्की मून, कोरिया, सिंगापुरजस्ता सबल अर्थतन्त्र रहेका मुलुकका ख्यातीप्राप्त अर्थविद्लाई बोलाएर यसखाले बहस सञ्चालन गर्ने योजना रहेको बताए ।

सो अवसरमा सहभागी विद्यार्थीहरुले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्