२२ असोज, खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा सुरुआत गरेको थियो ।
गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि आर्थिक वर्ष २०७४/०७५ देखि शुरु गरिएको ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको हो ।
लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको गाउँपालिकाले जनाएको छ ।
साकेलामा सम्झौता नवीकरण भएन
यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ ।
साकेला गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्काको पालामा आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो ।
चालु आर्थिक वर्षमा भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । प्रालिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई साकेला गाउँपालिका पठाएको थियो ।
साकेला गाउँपालिका र खोटाङ यातायात प्रालिबीच साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठमाण्डौ सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको थियो ।