२० असोज, काठमाडौं । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ ।
कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् ।
यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन् ।