२० असोज, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शनिबार विश्वासको मत लिने भएको छ।
विश्वासको मतका लागि लागि प्रदेश सभामा ४७ मत आवश्यक भए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन मुस्किल देखिन्छ। सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
विश्वासको मतका लागि लागि प्रदेश सभामा ४७ मत आवश्यक भए पनि मुख्यमन्त्री कार्कीलाई बहुमत पुर्याउन मुश्किल देखिन्छ । एमालेको उपसभामुखसहित प्रदेश सभामा ४० सिट रहेको छ । उपसभामुखले प्रदेश सभा सञ्चालन गर्ने भएकाले ३९ सदस्य मात्र मतदानमा सहभागी हुन पाउनेछन् ।
गठबन्धन दलले यसअघि नै एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । ९३ जना प्रदेश सभा सदस्यमध्ये एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपा ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनुहुनेछ । त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु हुनेछ । उपधारा ५ अनुसार कुनै सांसदले प्रदेश सभामा बहुमत सदस्यको आफूलाई समर्थन छ भन्ने प्रमाण लिएर गए प्रदेश प्रमुखले बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।