समाचार

प्रधानमन्त्री प्रचण्ड आज भुकम्प प्रभावित क्षेत्र बझाङ जाँदै

१९ आश्विन २०८०, शुक्रबार ०२:२०
प्रधानमन्त्री प्रचण्ड आज भुकम्प प्रभावित क्षेत्र बझाङ जाँदै

१९  असोज, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिम प्रदेशमा जाँदै छन् । गत मंगलबार र बुधबार बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।  

मंगलबार बझाङ केन्द्रबिन्दू भएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पुर्‍याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ। भूकम्पको केन्द्रबिन्दू रहेको बझाङमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्।

भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ। भूकम्पका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गरी १०७ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ३६२ घरमा आंशिक क्षति पुगेको छ।

बझाङ भूकम्पपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका थिए। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्