समाचार

सिक्किम बाढी अपडेट: मृत्यु हुने संख्या १८ पुयो

१९ आश्विन २०८०, शुक्रबार ०२:१०
सिक्किम बाढी अपडेट:  मृत्यु हुने संख्या १८ पुयो

१९  असोज, झापा। भारतको सिक्किममा आएको बाढीबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिमताल विस्फोट भई टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १८ जनाको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीमा परी २६ जना घाइते भएका छन् । सिङ्ताम नजिकैको बुरडाङ क्षेत्रबाट बेपत्ता २२ जना सेनाका जवानको खोजी तीव्र पारिएको छ । सेनाका एक जनालाई भने बुधबार साँझ जीवितै उद्धार गरिएको थियो । ९८ जना सर्वसाधारणको पनि खोजी भइरहेको सिक्किम प्रहरीले जनाएको छ । बेपत्ता सैनिकको खोजीमा टिस्टा नदीको तल्लो तटीय क्षेत्रमा गोताखोर खटाइएको छ ।

गत बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासका डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार एजेन्सीका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाइगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी भइरहेको सिक्किम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्