१८ असोज,पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
सोमबारदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले गण्डकी प्रदेश अध्यक्षलगायत पदाधिकारीमा दुई प्यानलको उम्मेदवारी परेको हो।
नेकपा एमालेकाे गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएकाे छ ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मी खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी अधिकारीको प्यानलको उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार रहेका छन्। १६५ जनाका लागि ३८२ जनाको उम्मेदवारी परेको छ। अझै पनि सर्वसम्मतका लागि प्रयास भइरहेको गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले बताएका छन्।
अधिवेशनकालागि प्रदेशमा ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन्। कास्की जिल्लाबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङ जिल्लाबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्।