९ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ताको व्यवस्थाका लागि कार्यविधि बनाएपछि करिब ४ महिनापछि कार्यान्वयनमा आएको हो ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको छ । आज प्रकाशित नयाँ कम्पनी दर्ता कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।
चालू आर्थिक वर्षको बजेटले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्न शुल्क नलाग्ने तथा ‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ चर्चित घोषणा गरेको थियो । बजेटले गरेको घोषणा कार्यान्वयन गर्दै शून्य शुल्कमा कम्पनी दर्ता गर्न र पुँजी वृद्धि गर्न सकिने व्यवस्था गरिएको उद्योग सचिव मुकुन्दप्रसाद न्यौपानेले बताए ।
सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने घोषणा कार्यान्वयनमा आउन भने अझै एक–दुई महिना लाग्ने उनले जानकारी दिए । ‘शुल्क छुट दिनका लागि अनुसूची संशोधन गरिएको हो, जुन मन्त्रिपरिषद्ले गर्न सक्छ,’ उनले भने, ‘पुँजी तोक्ने व्यवस्थाका लागि भने कानुन नै संशोधन गर्नुपर्छ, त्यो संसद्ले गर्ने हो ।’
कम्पनी दर्ता सम्बन्धी नयाँ ऐन लागू भएपछि विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर पनि चालु आर्थिक वर्षका लागि पूर्ण छुट दिने निर्णय गरिएको छ । त्यस्तै, कम्पनीको खोरेजी र पूँजी वृद्धि सबै दस्तुर खारेज भएकाले थप शुल्क नलाग्ने सरकारी राजपत्रमा उल्लेख छ ।