समाचार

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा पाँच आकाङ्क्षी

८ आश्विन २०८०, सोमबार ०४:०७
एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा पाँच आकाङ्क्षी

८ असोज, काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन यहि असोज ८ र ९ गते काठमाडौँमा हुँदै छ। प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौटको कार्य सकिएको एमाले प्रदेश अध्यक्ष केशवराज पाण्डले बताएका छन्।

आज बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए।

प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।

केन्द्रीय तहका नेताहरूले समेत चासोका साथ लिएको बागमतीमा नेताहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, महेश बस्नेत, गोकुल बाँस्कोटा लगायतले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेको बुझिएको छ ।

तर प्रदेश अध्यक्ष पदमा आकाङ्क्षीहरू बढेपछि सहमतिमा नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयास सफल हुने सम्भावना कम हुँदै गएको एमाले बागमतीका नेता कार्यकर्ताहरूको भनाइ छ । यद्यपि नेताहरूबिच सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको केन्द्रीय नेताहरूले बताएका छन् ।

अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ दाबेदारका रूपमा अघि आएका  छन् ।

सहमति नभए अन्तिममा ढुंगेल र पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना रहेको नेताहरूको भनाइ छ । संघीय संरचनामा गएपछि पहिलो चोटि एमालेमा बागमती प्रदेश अधिवेशन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्