खेलकुद

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

८ आश्विन २०८०, सोमबार ०१:३४
दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

८ असोज, काठमाडौं। दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ।

वर्षाका कारण प्रभावित भएको खेलमा भारतले अस्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको हो । जितसँगै तीन खेलको शृङ्खला भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३३ ओभरमा ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया २८ ओभर २ बलमा २ सय १७ रनमा अल आउट भयो ।

जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पानी परेपछि खेल ३३ ओभरमा झारिएको थियो। अस्ट्रेलियाका शेन एबोटले सर्वाधिक ५४ रन बनाए। यस्तै, डेविड वार्नरले ५३, मार्नस लाबुसेन २७,जोश हेजलवुडल २३ र एलेक्स क्यारीले १४ रन बनाए।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन/तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए। त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो। भारतको जितमा श्रेयस ऐरले सर्वाधिक १ सय ५ रनको पारी खेले।

यस्तै, शुभमन गिलले पनि शतक बनाए । उनले १ सय ४ रन जोडे । यस्तै, सूर्यकुमार यादवले ७२, कप्तान लोकेश राहुलले ५२,  इशान किशनले ३१ र रविन्द्र जडेजाले १३ रन बनाए ।

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम जाम्पाले एक/एक  विकेट लिए। भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो। तेस्रो खेल पर्सि बुधवार हुनेछ।

प्रतिक्रिया दिनुहोस्