७ असोज, काठमाडौं। सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुँदै छ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार आइतबार दिउँसो २ बजे सरकार र एमालेबीच पुनः छलफल हुन लागेको हो। उनले गृह मन्त्रालयमा उच्चस्तरीय आयोग गठन सम्बन्धमा सहमतिको लागि बैठक बस्न लागेको जानकारी दिए। यसअघि शुक्रबार दुईपटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन।
‘आइतबार दिउँसो २ छलफलका लागि बोलाइएको छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने,‘दिउँसो २ बजे हामी गृह मन्त्रलाय जाँदैछौ ।’
शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो । एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन ।