मुख्य समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

७ आश्विन २०८०, आईतवार ०८:०५
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

७ असोज, काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

आज सुनुवाइको पेसी तारिख तोकिएको थियो । तर, न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढ्न सकेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएको बताइएको छ ।

 त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो। त्यस दिन न्यायाधीश कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले भने बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै त्यो कागजात मगाउन माग गरेका थिए।

अधिवक्ता घिमिरेको आग्रहपछि न्यायाधीश कार्कीको इजलासले बसाइँ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो। त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो।

प्रतिक्रिया दिनुहोस्