समाचार

गैरआवासीय नेपालीलाई नागरिकता विदेशबाटै निवेदन दिन सकिने

७ आश्विन २०८०, आईतवार ०३:०५
गैरआवासीय नेपालीलाई नागरिकता विदेशबाटै निवेदन दिन सकिने

७ असोज, काठमाडौं। गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार सा“झ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो । यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् ।

संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले भने, “गैरआवासीय नेपाली नागरिकता दिने गरी नियमावली क्याबिनेटबाट स्वीकृत भएर आएको छ । हामी छिट्टै राजपत्रमा प्रकाशित गर्दै छौँ ।”

नियमावली आएपछि पुरानो कार्यविधिमा नयाँ व्यवस्था थप गरेर कार्यान्वयन हुने मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्था शाखाका प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।

उनले भने “प्रशासनिक र राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था भएको छ । नेपालमा तीन पुस्ताभित्रका मानिसले मात्र गैरआवासीय नागरिकता पाउँछ, त्योभन्दा पछाडिका पाउँदैन ।”

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्