समाचार

बेइजिङमा नेपाल–चीन बिजनेस समिट आयोजना हुँदै

७ आश्विन २०८०, आईतवार ०२:१४
बेइजिङमा नेपाल–चीन बिजनेस समिट आयोजना हुँदै

७ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् ।

शनिबार चीनको हाङ्चाओ शहर पुगेका प्रधानमन्त्री प्रचण्ड १९औं एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए।प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११:१० बजे चीनको राजधानी शहर बेइजिङ पुग्ने कार्यक्रम छ।  बेइजिङमा आइतबार हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका छन्।

आज अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउनेछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्त्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रीसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्