समाचार

कस्तो रहनेछ आइतबारको मौसम?

७ आश्विन २०८०, आईतवार ०१:५६
कस्तो रहनेछ आइतबारको मौसम?

७ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

साथै भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षा हुनेसमेत महाशाखाको अनुमान छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्