६ असोज, दाङ । दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
आफ्नै घरअगाडि उभिरहेको अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय वृद्धा कमला कुमारी हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ। उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ।
खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए।