६ असोज, काठमाडौँ । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् ।
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफनो माग समाधान नगरेको भन्दै राहतका शिक्षकहरुले आन्दोलन यथावत राखेका हुन् ।
उनीहरुले माइतीघरबाट आन्दोलन जारी राखेका छन् । बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए ।
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।
आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै उनले भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौं । नत्र माइतीघरमै बस्ने छौं ।’
बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए । शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।