खेलकुद

आजदेखि एसियाली खेलकुदको उद्घाटन

६ आश्विन २०८०, शनिबार ०२:१७
आजदेखि एसियाली खेलकुदको उद्घाटन

६ असोज, काठमाडौँ । चीनको हाङ्झाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ ।

जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्नेछन्। नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।

प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् नेपालबाट पहिलोपटक यति ठूलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुन लागेका हुन् । यो एशियाडमा इतिहासकै धेरै खेलाडीहरुले पनि सहभागीता जनाउदै छन् ।

१९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता हुन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोईमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

कराँतेमा आठ, गल्फमा ६, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा ६, पौडीमा चार, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्