५ असोज, काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो । आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ ।
उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए ।
तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए । रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।
आरोपी धनबहादुरले रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई सेतोपुललबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।