५ असोज, जनकपुरधाम। सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाबीचको तनाव साम्य पार्न सर्वदलीय समन्वय सहजीकरण बैठकले दोषी पत्ता लगाए कारबाही गर्नेसहितका ६ बुँदे निर्णय गरेको छ ।
बैठकले शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्म सबै मूर्ति एकैठाउँमा राखी विसर्जन गर्ने निर्णय गरेको छ। गणेशको मूर्ति विसर्जन गर्ने क्रममा बिहीबार राति मलंगवामा भएको झडपको घटनाको विषयमा सुक्ष्म रुपले समीक्षा गरी सत्यतथ्य पत्ता लगाइ दोषीलाई हदैसम्मको कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुलाई पहिचान गरी घटनाका दोषीलाई पक्राउ गरी कार्यवाही गर्न, घटना घटाई मानवीय तथा भौतिक क्षति पुयाउने व्यक्ति पहिचान गरी क्षतिपूर्ति गराउने र आगामी दिनमा यस प्रकारका घटनाको पुनराबृती हुन नदिन सबै पक्षबाट गम्भीरता पूर्वक आ-आफ्नो दायित् निर्वाह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै, जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्नेलाई पहिचान गरी दोषीलाई पक्राउ गरी कारबाही गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउने व्यक्ति पहिचान गरी निजबाटै क्षतिपूर्ति भराउने, अगामी दिनमा यस प्रकारका घटना पुनरावृत्ति हुन नदिन सबै पक्षबाट आ–आफनो दायित्व निर्वाह गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
अप्रिय घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार राति १० बजेदेखि अनिश्चित समयका लागि कर्फ्यू आदेश जारी गरेको छ । पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको हो ।
सर्वपक्षीय बैठकमा हिन्दु–मुस्लिम दुवै समुदायका अगुवाहरुको उपस्थितिमा धार्मिक, जातीय, साँस्कृतिक सद्भाव कायम गरी शान्ति सुरक्षा कायम गर्नेबारेमा छलफल भएको थियो।
बैठकमा पूर्व रक्षामन्त्री एवं प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मधेस प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य अशोक यादवलगायतको उपस्थिति थियो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारीको पनि सहभागिता रहेको थियो।