समाचार

विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि छन् : गगन थापा

५ आश्विन २०८०, शुक्रबार १०:५९
विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि छन् : गगन थापा

५ असोज, काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।

काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

‘यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसका यावत त्रुटीहरू छन् । अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्छ,’ थापाले भने ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै विधेयकमा धेरै त्रुटी रहेको र संसदबाट सच्याएर मात्रै पारित हुने बताए ।

महामन्त्री थापाले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम् कुरा कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउदै सरकारले चाँडो भन्दा चाँडो माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।

साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्