समाचार

बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

५ आश्विन २०८०, शुक्रबार ०२:५७
बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

५ असोज,बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको बाँकेका डिएसपी तथ प्रवक्ता नारायण डाँगीले बताए । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ ।

जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो । झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको बताइएको छ । उनी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।

समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधार गृह स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्