५ असोज,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लागेका हुन् ।
बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले जानकारी दिए ।
जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे गर्ने तय भएको उनले जानकारी दिए । ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो रहेको मानिएको छ ।
साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् । करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ ।
रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले निर्माण गरेको हो ।
करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ ।