५ असोज, सर्लाही। जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल-भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।