३ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा बुधबारबाट काठमाडौंमा बृहत् सडक आन्दोलन सुरु गरिएको छ। देशभरबाट शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन काठमाडौं आएका छन्।
सरकारले हालै संसद् लगेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका हुन्। सरकारले ल्याएको नयाँ शिक्षा विधेयकमा शिक्षकलाई राजनीतिबाट निषेध गरिएको छ भने विद्यालय व्यवस्थापनको अध्यक्ष अभिभावकबाट छानिने भनिएको छ।
विद्यालयमा राजनीति गर्न पाउनुपर्ने, राजनीतिक दलका मान्छे विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुपर्ने, राजनीतिक दलका नेताको सिफारिसमा विद्यालयमा अस्थायी करार नियुक्ति पाएका शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलायत १८ बुँदे माग अगाडि सारेर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्।
आन्दोलनमा उत्रिएका शिक्षकहरूले शिक्षामन्त्रीदेखि कानुनमन्त्रीसम्मको राजीनाको माग गरेका छन्। ‘शैक्षिक माफिया होसियार, ‘शिक्षक कर्मचारी एकता जिन्दावाद’, ‘विभेदकारी शिक्षा ऐन खारेज गर्’ लगायतका नारासहित उनीहरू सडक प्रदर्शनमा उत्रिएका छन्।
सडकमा पूर्ण रुपमा सवारी अवागमन प्रभावित पार्दै शिक्षकहरू आन्दोलनमा छन्। बर्दघाट सुस्तापूर्व नवलपरासीबाट दुई दिन लगाएर आन्दोलनका लागि काठमाडौं आएका शिक्षक सुर्यप्रसाद पण्डितले, ‘यो शिक्षा विधेयक विभेदकारी छ। शिक्षकहरू समान रुपमा बराबर हुन्। कोही अस्थायी, कोही राहत आदि इत्यादीका नाममा वर्गीकरण गर्नु हुँदैन।’
हजारौं, शिक्षक कर्मचारी काठमाडौंमा आएकाले आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले बताए। शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।
शिक्षकको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। माइतीघर मण्डलामा भेला भएका शिक्षकले सडक कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त भएको हो।