३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवादमा कोइरालाले बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको बताए । कोइराला परिवारका सदस्यहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने उनको दाबी छ ।
बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै उनले कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दु:ख पाइरहने दाबी गरे।
उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ।’
नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सँधै साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए।
‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । बीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो,’ शशांकले भने, ‘सात हजार कीमी बाटो थियो, अहिले १ लाख किलोमिटर भयो । हात हातमा मोबाइल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो ।’
उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले कार्यकर्ताहरूलाई धेरै माया गर्ने गरेको स्मरण गरे । अहिलेका नेताहरूले कार्यकर्ताको दुःख बुझ्न नसकेको शशांकको भनाइ छ ।