३ असोज, काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ ।
बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । बिहीबार (भोलि)देखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् ।
उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।