समाचार

आजदेखि ४५ मिनेटमै रत्नपार्कदेखि सूर्यविनायक पुग्ने द्रुत बस सेवा सञ्चालन गरिने

३ आश्विन २०८०, बुधबार ०२:०७
आजदेखि ४५ मिनेटमै रत्नपार्कदेखि सूर्यविनायक पुग्ने द्रुत बस सेवा सञ्चालन गरिने

३ असोज, काठमाडौं । सरकारले रत्नपार्कदेखी सूर्यविनायकसम्म दैनिक ४ घण्टा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ। बिहान र बेलुका कार्यालय समयमा २–२ घण्टा सेवा सुरु हुने भएको हो।

संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्न लागिएको हो।काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाइएको छ।

त्यसका लागि अहिले सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ। संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाइरहेको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार बुधबार उद्घाटन हुने र बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

भट्टका अनुसार नयाँ लेनमा गुड्ने डेडिकेटेड सवारी साधनले ट्राफिक जामलाई खासै असर नगर्ने र छुट्टै लेनमा चल्ने सवारी साधन भए पनि ट्राफिक सिस्टममै चल्ने हुनाले ट्राफिक व्यवस्थापन अझ सहज हुनेछ । यद्यपि उक्त लेनमा चल्ने सवारी साधन अन्य सवारी साधनको तुलनामा छिटो गन्तव्यमा पुग्ने छन् ।

पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन। यद्यपि एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।

उनका अनुसार बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।

ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ।

विभागका अनुसार सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू हुनेछन्।

प्रत्यक ५ मिनेटमा यस लेनमा बसहरू चल्नेछन्। एउटा बस र अर्को बसको दूरी १ किलोमिटर रहनेगरी व्यवस्थापन गरिनेछ। द्रुत बस सेवा लिनका लागि थप भाडा तिर्न पर्नेछैन। पुरानै भाडादरमा बस सञ्चालन गरिने विभागले जनाएको छ।

निकट भविष्यमा यस्ता बसहरू कहाँ छन् र स्टपमा पुग्न कति समय लाग्छ भन्ने जानकारी दिनेगरी मोबाइल एप पनि बनाइने विभागका महानिर्देशक रिजालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्