३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् ।
संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका हुन्।
“प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो”, उनले भनेका छन् ।