१ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
आज सबै मन्त्रीहरूलाई रक्षा मन्त्रालयमा बोलाएर छलफल गर्दै उनले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिए ।
छलफलमा सहभागी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति–सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।