१ असोज, काठमाडौं। सुनसरीको दुहवी नगरपालिकाले कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ ।
विद्यालयका बालबालिकाको शिक्षण सिकाइ नियमित र प्रभावकारी रुपमा गरी सिकाइ उपलब्धिमा सुधार गर्नु एकमात्र ध्येय शिक्षकहरूको रहनुपर्नेमा बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हड्ताल गर्नु कदापि स्वीकार्य नहुने नगरपालिकाले जनाएको छ।
‘तसर्थ नियमित रुपमा कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सदा झैँ नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न गराउन दुहवी नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय‚ विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको छ, यस निर्देशनको अवज्ञा गरी कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।