१ असोज, पाल्पा। तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ ।
घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो ।
यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।