समाचार

पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेच्न तथा खान रोक

३१ भाद्र २०८०, आईतवार ०२:०४
पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेच्न तथा खान रोक

३१ भदौ, काठमाडौं।  जिल्ला प्रशासन कार्यालय काठमाण्डुले पशुपति मन्दिर आसपास क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका जितका अवसरमा पाशुपत क्षेत्रमा रक्सी र मासु बेच्न र खान प्रतिबबन्ध लगाएको हो । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेर सो क्षेत्रमा त्यस्ता गतिविधि निषेध गरिएको हो ।

सूचनामा तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने उल्लेख छ । सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्