धर्म संस्कार

दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व

३१ भाद्र २०८०, आईतवार ०१:५८
दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व

३१ भदौ, काठमाडौं। दाङ- दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायको बाहुल्यता रहेका जिल्लामा धुमधामका साथ अट्वारी पर्व मनाइँदैछ।

यस पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।  थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ ।

द्वापर युग र दंगिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध रहेको धार्मिक विश्वास छ। पाँच पाण्डव मध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। यस्तै, भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ।

सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो ।

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्। ब्रत बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ अट्वारीको दोस्रो दिन अर्थात् सोमबार तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन्।

तर, पछिल्लो समय यी र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन्। ‘हाम्रो भाषा, संस्कृती हराउन थालेका छन्। संरक्षण गर्न जरुरी छ’ थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. १ का पूर्व सभापति चेतराम चौधरीले भने,’हामीले विभिन्न समयमा अभियानहरू पनि चलाउँदै आयौँ। अझ व्यापक अभियानको खाँचो छ।’

पछिल्ला दिनहरुमा मौलिक संस्कृती मनाउने शैलीमा समेत परिवर्तन आउन थालेको छ। जसले गर्दा कला संस्कृती लोप हुने अवस्थामा पुग्न थालेका हुन्। समुदाय अनुसारको फरक-फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्