समाचार

‘विदेशमा रहेका नेपालीलाई फर्काउने गरी १६ औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ’

३० भाद्र २०८०, शनिबार ११:४१
‘विदेशमा रहेका नेपालीलाई फर्काउने गरी १६ औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ’

३० भदौकाठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन् ।

उनले १६ औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए ।  उपाध्यक्ष डा श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको बताए ।

“सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ । तर उत्पादन र रोजगारी बढेन । त्यसैले हामीले अहिले रोकेका छौं । पछि कार्यविधिलाई संशोधन गरेपछि नयाँ प्रक्रियामा सहुलियपूर्ण कर्जालाई लैजान्छौँ”, उनले भने ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकाले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए । उनले युवाका समस्या युवासँग बसेर छलफल गर्नसके धेरै अगाडि बढ्न सकिने धारणा राखे ।

नेपाल बैंकर एशोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताए । उनले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै  लगानी उठ्न जोखिम रहेकाले केही बैंक उद्योगमा लगानी गर्न डराएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले युवाको उद्यमशीलताका लागि नयाँ गन्तव्य खोज्नुपर्ने बताइन् । उनले अहिलेका युवा धेरै सक्रिय रहेकाले नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशील बनाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताए । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर बेच्न सक्दैन । किसानले  उत्पादन गरेको खाद्यवस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ । स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्