त्रिभुवन विमानस्थल बाहिर साउन २ गते बरामद भएको तस्करीको ६० किलो सुनबारे ३५ दिन लामो अनुसन्धानका क्रममा सिआइबीले सात वटा कम्पनीमार्फत् तस्करहरूले सुन नेपाल ल्याउने गरेको भेटाएको हो।
ती कम्पनी हुन् :
१. बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स,
२.चाबहिल (गोपिकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स,
३. सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स,
४. बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स,
५. लाजिम्पाट र हात्तीगौंडा मा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स,
६. बालुवाटारस्थित दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि,
७.बुढानिलकण्ठस्थित सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स।
तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको योजनामा कुनै समय भन्सार एजेन्टको सहयोगीका रूपमा काम गरेका हर्कराज राईले विभिन्न व्यक्तिहरू खोजेर उनीहरूका नाममा कम्पनी खडा गराएका थिए । कम्पनी खडा गर्ने व्यक्तिहरूलाई १५ देखि ४० हजार रुपैयाँसम्म रकम दिइएको पाइएको छ ।
कम्पनी स्थापना गर्दा ज–जसका नाममा स्थापना भए पनि सामान आयात गर्ने, बैङ्क खाता खोल्ने, चलाउने लगायतका काम भने सुन तस्करीमा संलग्न गिरोहहरूले नै गर्ने गरेको पाइएको छ । यो समूहले भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा संलग्न गिरोहकै सदस्यसँग काम गरेको समेत पाइएको छ ।
यो समूहका लागि चिनिया नागरिकहरू लिन, लि, चिनपेङ योङचिन, दाओजिङ वाङ, झोङ लगायतका व्यक्तिका लागि काम गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।